सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुँदै

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ श्रावण १७, शनिबार (१६ घण्टा अघि)
  • १० पटक पढिएको
सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुँदै

|फोटोमा : आयोजना बारे जानकारी गराउँदै सिमरा भेट्रान फुटबल क्लब ।

बारा : जिल्लाको सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा प्रतियोगिता हुने भएको हो । क्लबले शनिबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिता बारे जानकारी गराएको हो ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिङको कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक क्लब गरी ८ टिमको सहभागिता जनाईएको छ । रात्री समयमा हुने प्रतियोगिता सिमरा रंगशालामा सञ्चालन हुने आयोजक सिमरा भेट्रानका प्रतियोगिता संयोजक हरि चौधरीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उप–विजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने चौधरीले बताए । उनले प्रतियोगिताको लागत अनुमानित ५४ लाख हुने जनाए ।

क्लब अध्यक्ष राजकपुर राउतले प्रतियोगितालाई नियमित रुपमा आयोजना गर्ने प्रतिबद्धता जनाए । विगत चार वर्षदेखि सिमरामा भेट्रान फुटबल आयोजना गर्दै आएको सिमरा भेट्रान क्लबले महिला फुटबलको विकास र प्रवद्र्धनका लागि यसपटकदेखी महिला फुटबल प्रतियोगिता सुरु गरेको उनले बताए ।

कार्यक्रममा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘पछिल्लो समय महिला फुटबलप्रति बढ्दो आकर्षण देखिएको छ, यसले अझै ऊर्जा दिनेछ’ उनले भने । लामाले सिमरालाई महिला फुटबल खेलाडी उत्पादनको केन्द्र बनाउन सकिने धारणा राखे ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की अध्यक्ष चयन गुरुङ र वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठले विद्यालय स्तरमै महिला फुटबललाई विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । उनीहरूले प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरीले आयोजक क्लबले वर्षौंपछि महिला फुटबलको पुनरागमन सिमराका लागि ऐतिहासिक भएको उल्लेख गरे ।

सिमरामा सन् २०६५ सालमा पहिलो गणतान्त्रिक राष्ट्रिय महिला फुटबल प्रतियोगिता र २०६९ मा एन्फाको आयोजनामा एनसिएल राष्ट्रिय महिला फुटबल प्रतियोगिता भएका थिए । त्यसयता लामो अन्तरालमा राष्ट्रिय महिला फुटबल सिमरामा आयोजना हुन लागेको हो ।

राष्ट्रिय प्रतियोगिता नहुँदा विद्यालयस्तरबाट उत्पादन भएका महिला खेलाडीमा अवसरको अभाव थियो । अब भने यो प्रतियोगिताबाट स्थानीय खेलाडीको प्रतिभा उजागर हुने आधार बन्ने नेपाल खेलकुद पत्रकार महासंघ बारा शाखा अध्यक्ष सुनिल गाउँलेले विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह, माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, क्लबका सल्लाहकार विनोद परियार लगायतले प्रतियोगिता भब्य सफलताको कामना व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश