ठोरी पर्सा जिल्ला कै पहिलो साक्षर स्थानीय तह घोषित

  • ई-गुनासो
  • / मुख्य समाचार /
  • २०८२ अषाढ २१, शनिबार (२१ घण्टा अघि)
  • ६१ पटक पढिएको
ठोरी पर्सा जिल्ला कै पहिलो साक्षर स्थानीय तह घोषित

वीरगञ्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिकाले ऐतिहासिक उपलब्धि हासिल गर्दै जिल्लाकै पहिलो साक्षर गाउँपालिका बनेको छ । शनिवार ठोरी–३, शिकारीवासमा आयोजित विशेष समारोहमा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीलाई साक्षर पालिका घोषणा गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनार (अजय सर्राफ) प्रमुख अतिथि र प्रमुख जिल्ला अधिकारी गणेश अर्याल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

नेपाल सरकारले साक्षर पालिका घोषणाका लागि निर्धारण गरेको १२ सूचकमध्ये ठोरीले ८ वटा पूरा गरेको आधारमा यो घोषणा गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपाल जोशीले जानकारी दिए । उनले भने, “आसमान नेपालको सहयोगमा पालिकाका पाँच वटै वडामा गरिएको सर्वेक्षणमा ३ हजार ८ सय ९ घरधुरीका १५ देखि ६० वर्ष उमेर समूहका १५ हजार ६ सय ७८ मध्ये ९८.८६ प्रतिशत अर्थात् १५ हजार ३ सय २१ जना साक्षर पाइए । तथ्याङ्कले हामीलाई साक्षर पालिका घोषणा गर्न योग्य बनायो ।”

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनारले ठोरी गाउँपालिकाको उपलब्धिलाई ठोरीवासीको मेहनत र सामूहिक प्रयासको परिणाम बताए । उनले भने, “शिक्षा विकासको आधार हो । ठोरीले यो कदम चालेर अन्य पालिकालाई पनि प्रेरणा दिएको छ । यो उपलब्धि कायम राख्दै गुणस्तरीय शिक्षामा जोड दिन जरुरी छ ।”

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ठोरीको सफलताले जिल्लाकै शैक्षिक स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, “यो गाउँपालिकाको साक्षरता दर ९८.८६ प्रतिशत पुग्नु गर्वको कुरा हो । अब यहाँका बासिन्दालाई सीपमूलक र व्यावहारिक शिक्षामा जोड दिनुपर्छ ।”

गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरी मधेस प्रदेशका १३६ पालिकामध्ये सातौँ र पर्साका १४ पालिकामध्ये पहिलो साक्षर पालिका बन्नु गौरवको विषय भएको बताए । उनले भने, “हाम्रो टिमको निरन्तर प्रयास र स्थानीयको सहयोगले यो सम्भव भयो । हामी अब साक्षरताको यो स्तरलाई कायम राख्दै गुणस्तरीय शिक्षामा लगानी गर्नेछौँ ।”

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोकुल कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, उद्योग विभागका महानिर्देशक सुशील साह, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास, सामुदायिक सेवा केन्द्र श्रीपुर–मुर्लीका अध्यक्ष राम कुमार सर्राफ, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान र आसमान नेपालका धर्मेन्द्र चौरसियालगायतको उपस्थिति थियो ।

नेपाल सरकारको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत साक्षर भएमा कुनै पालिकालाई साक्षर घोषणा गर्न सकिन्छ । ठोरीले मापदण्डलाई सहजै पार गर्दै आफूलाई शैक्षिक रूपमा अब्बल साबित गरेको छ । उपलब्धिले अन्य स्थानीय तहलाई पनि साक्षरता अभियानमा प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश