सिमरा ।
जीतपुरसिमराको वडा नं. २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले गत वर्षबाट भर्ना भएका सबैलाई विज्ञान सङ्काय निशुल्क अध्यापन गराउने बताएको
छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ ले उपमहानगरको अनुदान सहयोगमा शिक्षाको विकास र सामाजिक उत्तरदयित्व स्वरूप सिमरा माविमा विज्ञान सङ्काय अध्ययन गर्ने सबैलाई निशुल्क पठनपठनको व्यवस्थापन गर्न लागेको हो ।
आफ्नो वडामा रहेको नमूना विद्यालय नेरा माविलाई दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउन यस्तो अभियान सुरु गरिएको वडा अध्यक्ष धन बहादुर श्रेष्ठले जानकारी दिए ।
देशमा विज्ञान तथा गणित विषयका जनशक्ति अपुग भएको र शिक्षामा दक्ष जनशक्ति भित्र्याउन यो अभियान उदाहरणीय हुने समेत उनको दाबी छ । विज्ञान सङ्काय सामान्य परिवारका व्यक्तिलाई महङ्गो पर्ने र इच्छा भएर पनि अन्य साधारण धारका विषयतर्फ अध्ययन गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्न समेत यसलाई धेरै सरोकारवालाले उदाहरणीय कार्यका रुपमा लिएका छन् ।
यता नेरा माविका प्रधानाध्यापक शंकर आचार्यले भौतिक अवस्था र शिक्षाको गुणस्तरमा मध्य नेपालकै हबको रुपमा विकसित हुँदै गएकोले निर्धक्क र निशुल्क विज्ञान सङ्काय अध्ययन गर्न नेरा मावि आउन सरोकारवालालई आग्रह गरेका छन् ।
विगतको तुलनामा नतिजामा गुणात्मक सुधार हुँदै गएको यस माविमा देशका जुन कुनै भागबाट पनि निशुल्क विज्ञान सङ्काय अध्ययन गर्न आउन सकिने आचार्यको भनाइ रहेको छ ।
नेरा माविले शिक्षा, मानविकी, व्यवस्थापन, कम्प्युटरबिज्ञान लगायत यो वर्षदेखि कानुन सङ्कायमा समेत अध्यापन गराउने भएको विद्यालय व्यवस्थपन समितीका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए । रोजगारी र स्वरोजगारका क्षेत्रमा समेत उल्लेख्य ख्याति कमाउँदै आएको सिमरा मावि यो भेगकै उत्कृष्ट जिपिए ल्याउने विद्यालय समेत हो ।