पुष्पराज खतिवडा,बारा । भुमी समस्या समाधान आयोग बाराले भुमीहिन, दलित, सुकुम्बासी र अब्यवस्थीत बसोबासीको जग्गा नापजाँचको काम तिब्रगतीमा भैरहेको जनाएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को विरेन्द्रनगरमा आईतबार नापजाँच थालनीमा सहभागी भएका आयोग बाराका अध्यक्ष भरत बहादुर घलेले दूईवटा पालिकाबाट तिव्रगतीमा काम भैरहेको बताए ।
आयोगले यस अघि नापजाँच भएको विरेन्द्रनगरका ६१ कित्ताको आईतबार पुनः परिक्षण गरेको हो । दलित भुमिहिनको बसोबासी रहेको उक्त क्षेत्रबाटै लालपूर्जा दिने तयारी भैरहेको आयोग अध्यक्ष घलेले बताए ।
जीतपुरसिमरा उपमहानगरपालिको वडा नं.१८, १६ र २१ मा ४ वटा र निजगढको वडा नं.४ र १० मा २ वटा गरी ६ वटा नापी टिम खटिएका हुन् । जीतपुरसिमरा र निजगढ नगरपालिकामा गरी ६ वटा सर्वेयर टोली फिल्डमा खटिएका छन् । एकजना सर्वेक्षक र २ जना अमिन गरी ३ जना प्रत्येक टोलीमा छन् उनले जानकारी दिए ।
नापजाँचमा स्थानियको सहभागिताले सहज भैरहेको पनी उनले बताए । आआफ्नो जग्गा नापजाँचका बेला अनावश्यक विवाद नगरि प्राविधिक टोलीलाई सहयोग गरिदिन समेत उनले सबैसँग आग्रह गरे । संधियारका विच विवाद भए प्राविधिक टोलीले नाप्न छोड्ने छ । यसरी छुटेको ठाउँमा पुनः टोली आउन नसक्ने हुँदा नापजाँचका क्रममा विवाद नगरिदिन उनले आग्रह गरे ।
हाल सम्म कति जग्गा नापजाँच भएको बारे एकिन हुनभने बाँकी रहेको भन्दै आयोग अध्यक्ष घलेले यस्को विवरण छिट्टै दिने बताए ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ मा जमिन नापजाँचमा सहयोग गरिरहेका उक्त वडाका पूर्व अध्यक्ष केदार बजगाँईका अनुसार सो वडामा करिब ३० विगाहमा नापजाँच भएको बताए । बसोबास क्षेत्रमा समय लाग्ने रैछ । वस्तीहरुमा ढिला हुने र खाली क्षेत्रमा कम समय लाग्ने भएपनि प्राविधिक रुपमा काम सम्पन्न हुन एउटै वडामा ५।६ महिना लाग्ने मैले बुझें, बजगाईले बताए ।
भुमी समस्या समाधान आयोग बाराले दोस्रो चरणमा नापजाँच गर्न आयोजित मेशिनरी पूजामा आयोग अध्यक्ष घले सहित आयोग बाराकी सदस्य कलावती पास्वान, पालिका स्तरिय सहजीकरण समितिका संयोजक एवं जीतपुरसिमराका उपप्रमुख भोला प्रसाद अधिकारी सहभागि थिए ।
यस्तैगरी नेपाली कांग्रेस नगर सभापति छवि शर्मा, नेकपा एमाले जिल्ला कमिटी बारा सदस्य बसन्त खतिवडा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल , जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का अध्यक्ष चतुरबावु वाग्ले, वडा सदस्य लक्ष्मीमाया वल, नेपाली काँग्रेस नेतृ मेघा शाही, क्षेत्रिय सचिव राजेश भण्डारी लगायतको सहभागिता थियो ।