मकवानपुर: सहकारी संस्थाहरुका पशु प्राविधिक, पशुधन सुरक्षण उपसमितिका पदाधिकारी एवं संस्था प्रबन्धकहरुका लागि दुईदिने पशुधन सुरक्षण व्यवस्थापन तालिम सम्पन्न भएको छ । जेठ १० र ११ गते मकवानपुरगढ़ी गाउँपालिका स्थीत गढ़ी रिसोर्टमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय हेटौंडाले साना किसान कृषि सहकारी संस्थाका पधादिकारीहरुलाई तालिम दिएको हो ।
‘साना किसानको समृद्धि : कृषिको रूपान्तरण र उद्यमशीलताको विकास’नाराका साथ आयोजित तालिम कार्यक्रममा बारा, पर्सा, चितवन, मकवानपुर र रौतहटका गरी २७ जनाको सहभागीता रहेको थियो ।
सहकारी संस्थाहरु मार्फत ग्रामिण साना किसानहरुले पालेका चौपायाको शुरक्षण (विमा) गरी जोखिम न्युनिकरणमा सहयोग पुर्याउने उदेश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाका शाखा प्रबन्धक भोलानाथ रेग्मीले जानकारी दिनु भयो । साना किसानहरुलाई पशुपालनमा सहुलियत कर्जा प्रवाह गरिरहेका साना किसान सहकारीका जिम्मेवार ब्यक्तिहरुलाई तालिममा सहभागी गराई सदस्य किसानको लगानी रक्षार्थ पशुधन शुरक्षण अभियान थप प्रभावकारी बनाउन तालिमको आयोजना हो, रेग्मीले भन्नु भयो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय हेटौंडाका वरिष्ठ अधिकृत विष्णु प्रसाद कालाखेतीको संयोजनमा आयोजित तालिमको शनिबार विहान उद्घाटन र आईतबार समापन शाखा प्रमुख रेग्मीले गर्नु भएको थियो ।
उक्त तालिममा शाखा प्रबन्धक रेग्मी, वरिष्ठ अधिकृत कालाखेती, रामबाबु सिंह, वरिष्ठ सहायक निरजसिंह ठकुरी,पशु प्राविधिक रमेश रुपाखेती लगायतकाले सहभागीलाई प्रशिक्षण गर्नु भएको थियो ।